
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल आज साँझ नेपाली समय अनुसार ६ बजेर १५ मिनेटमा शुुरु हुनेछ ।
खेल सिंगापुर नेसनल स्टेडियममा हुनेछ । एसिया कप छनोटको तयारीमा क्रममा नेपालले मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । विश्वकप छनोट अन्तर्गत सन् १९८९ मा नेपालले दुईपल्ट सिंगापुरको सामना गरेको छ ।
त्यसमध्ये दक्षिण कोरियोको सोलमा भएको पहिलो खेलमा नेपाल ३–० ले पराजित रह्यो भने सिंगापुरमै भएको खेलमा नेपालले ७–० को बिर्सनलायक हार बेहोरेको थियो ।सिंगापुरमै नेपालको अबको खेल चौथो हुनेछ ।
यसअघिकौ तीनै खेलमा नेपाल पराजित छ । त्यसमा नेपाल दक्षिण कोरियाविरुद्ध ४–० ले मलेसियाविरुद्ध ३–० ले पराजित थियो । सन् १९८२ मा पनि नेपालले किंग्स कपको बैंककमा भएको खेलमा पनि नेपाल सिंगापुरको हातबाट २–० ले पराजित भएको थियो ।
यस्तोमा नेपालले औपचारिक वा अनौपचारिक कुनै खेलमा पनि सिंगापुरविरुद्ध बराबरीमा मात्र निकाल्न सकेको नभई टोलीविरुद्ध कुनै गोल पनि गर्न सकेको छैन । एसिया कप छनोटको तेस्रो चरणमा सिंगापुर समूह ‘सी’ मा रहेको छ ।
टोलीको प्रतिद्वन्द्वीमा भारत, हङकङ र बंगलादेश छन् । नेपाल भने समूह ‘एफ’ मा छ । यो समूहमा रहेका अन्य टिममा भियतनाम, मलेसिया र लाओस छन् । नेपालले छनोटको आफ्नो पहिलो खेल मंगलबार मलेसियाविरुद्ध खेल्दै छ ।