गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको पहिलो फिल्म ‘वसन्त’ ट्रेलर सार्वजनिक गरिएको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा पात्रको चरित्र चित्रण र कथावस्तुबारे संक्षिप्त जानकारी दिइएको छ। फिल्मको ट्रेलर रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङमा समेत परेको छ। २०६२/०६३ सालको पृष्ठभूमिमा यो फिल्मको कथा अगाडि बढाइएको छ।

फिल्ममा जातीय विभेदको कथा देखाइएको छ। किताब लेख्ने सपना देखेको दलित युवकको संघर्ष ट्रेलरमा देख्न सकिन्छ। स्कुले जीवनको अन्तरजातीय प्रेम, मानवीय मर्मदेखि समाजका बहुआयामिक पाटोलाई देखाउन खोजिएको छ। प्रकाश सपुतले ‘वसन्त’ लाई वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको एउटा तप्काको कथा भनेका छन्।

ट्रेलर सार्वजनिक गर्दै प्रकाशले भने, ‘वसन्तको माध्यमबाट हामीले शान्ती, सपना, प्रेम र सत्य खोज्ने प्रयास गरेका छौं। पात्रको नाम पनि त्यही अनुसार राखिएको छ।’ प्रचार सामाग्री हेर्दा जातको मात्रै विषय हो कि जस्तो लागे पनि चार/पाँच वटा पात्रहरूको माध्यमबाट समाजको विभिन्न पाटो देखाउन खोजिएको प्रकाशले बताए।

‘लैंगिक विभेद, गरिबी, विकटताले हाम्रो जीवनमा पार्ने प्रभावहरू, वैदेशिक रोजगारका कुराहरू, माया–प्रेमका कुराहरू, एउटै समाजमा पनि नदेखिने गरी हुने विभिन्न ग्यापहरूलाई यसमा देखाउने कोशिस गरेका छौं,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर