मधेशको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरू भएसँगै पर्वमय बनेको छ । आइतबार चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ ।यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो ।

हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन् । चैत शुक्ल प्रतिपदासँगै शुरू हुने वासन्ती नवरात्रका अवसरमा मधेशका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा आज घटस्थापना गरिँदै छ ।चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्गाको पूजाआराधनाको मैथिल परम्परा छ ।

हिन्दू परम्परामा वर्षको दुईपटक नवरात्र मनाइन्छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको लाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्रमा समान विधिले नवदुर्गा भवानीको आराधना गरिन्छ । शारदीय नवरात्रपछि दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने चलन भने वासन्ती नवरात्रमा छैन ।

नवरात्रको पहिलो दिन नयाँ माटाका घडामा पूर्णकलश स्थापना गरेर नवदुर्गाको आराधनासँगै चण्डी पाठको परम्परा छ । यी नौ दिनमा देवी दुर्गाका नौ रुप क्रमशः शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ । नवरात्रको प्रारम्भसँगै मिथिलाका देवी शक्तिपीठमा देवीका भजन गुञ्जन थालेका छन् ।

महोत्तरीका बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माई मन्दिरमा वासन्ती नवरात्रका अवसरमा विशेष पूजाआराधनाको तयारी छ । जलेश्वरनाथ महादेव मन्दिर परिसरस्थित त्रिशूली देवीको मन्दिर पनि आजदेखि सर्वसाधारणको दर्शनका लागि खुला गरिने छ ।

त्रिशूलीदेवीको मन्दिर शारदीय र वासन्ती दुवै नवरात्र अवधिभरिमात्र सर्वसाधारणको दर्शनका लागि खोलिने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर