अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘हर्ष’ को छायांकन सकिएको छ।

३५ दिनमा सबै छायांकन सकिएको यसकी निर्देशक एकता पौडेलले बताइन्। ‘४० दिनको सेड्युल लिएर छायांकनमा निस्केका थियौं। निर्माण टिमको उत्साहपूर्ण कामले सेड्युलभन्दा ५ दिन अगावै छायांकन सक्यौं,’ उनले भनिन्।

फिल्ममा ५ वटा गीत समावेश गरिएको र ती सबै गीतसहितको छायांकन ३५ दिनमा सकिएको पौडेलले बताइन्। यो फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरूङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायतले अभिनय गरेका छन्।

हालसम्म फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन। पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकेपछि मात्रै प्रदर्शन मिति घोषणा गर्ने तयारी छ। यो फिल्मकी निर्देशक एकता दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन्।

आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। यसका अलावा उनले केही छोटा फिल्महरू बनाएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर