पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०२३ को जनवरी १ मा उक्त विमानस्थलको उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको करिब एक बर्ष पछि बिहीबार बाट अध्यागमन कार्यालय सञ्चालनमा आएको हो ।
अध्यागमन कार्यालयका लागि आवश्यक पर्ने सबै पूर्वाधार निमार्ण अन्तर्राष्ट्रिय विमानस्थलमा सँगै भएको थियो । बाँकी कार्यालय सञ्चालनका लागि आवश्यक सामाग्रीहरू परिपूर्ति गर्दै कार्यालय सञ्चालन गर्न थालेको अध्यागमन कार्यालय प्रमुख उपसचिव लिलाभल्लव न्यौपानेले जानकारी दिनुभयो । उक्त विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा कूल २९ जना कर्मचारीको दरबन्दी राखिएको छ । तत्कालको लागि भने अहिले १० जना कर्मचारीले कार्यालय सम्हालेका छन् ।
‘अध्यागमनको काम अन्तर्राष्ट्रिय उडानसँग सम्बन्धित हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नियमित अन्तर्राष्ट्रिय उडानको भने भएको छैन । अन्तर्राष्ट्रिय उडान भएपछि र चाप बढ्दै गएपछि यस कार्यालयको कामको चाप पनि बढ्दै जानेछ ।
नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेता पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ६ असारमा चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको विमान उडान गरेको थियो । त्यसयता भदौ २३ गते रोयल भुटान एअरलाइन्सको ड्रुक एअर र ३ वटा चिनियाँ चार्टड उडान विमानले उडान भरेको छ ।