सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताउनुभएको छ ।

आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्त्व र इतिहास छ, यसको तुलनामा आज हामीले यसलाई कति विकास गर्न सक्यौँ भन्ने मूल प्रश्नमा बहस हुन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो ‘हामीले प्राकृतिक रुपमा हिमाल, पहाड र तराइमा पाइने सबै प्रकारको हावापानी पाएका छौँ । जडीबुटीका हिसाबले धनी छौँ । हाम्रो सभ्यता र संस्कृतिका हिसाबले पनि नेपालमा मानव सभ्यताको विकास भएपछिको अधिकांश समय हाम्रा पुर्खाहरूले यही जडीबुटीकै भरमा रोगब्याधिसँग लडेर स्वस्थ जीवन बाँच्न सके । यस्तो अनुकूल धरातलका बिचमा रहेर पनि हामीले आयुर्वेद स्वास्थ्यको क्षेत्रमा किन विकास गर्न सकेनौँ ? हाम्रा बहुमूल्य जडीबुटी बिदेशीहरुलाई कौडीको मोलमा बेचेर त्यसबाट उत्पादित औषधि वा अन्य वस्तु महँगोमा किनेर प्रयोग गर्नुपर्ने अवस्था किन आयो ? यसको गहिरो समीक्षा हुन जरुरी छ’ ।

पूर्वीय सभ्यताको अङ्ग र पुस्ताको नासोको रूपमा रहेको आयुर्वेदको यो गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले केही प्रयास त पक्कै गरेका छौँ तर पर्याप्त छैन । आयुर्वेदको संस्थागत सेवा र औषधि उत्पादनमा नेपालको जुन गौरवशाली इतिहास छ, यसलाई अब विविधसँग जोडेर विश्वब्यापीरुपमा यसको पहुँच विस्तार गर्नुपर्छ ।’आयुर्वेदको विकासका लागि व्यापक अनुसन्धानमा जोड दिने र यसलाई नेपाली समाजको जीवनशैली बनाउनतिर ध्यान दिनपर्ने मन्त्री शर्माको जोड छ । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्त्व दिइएको उल्लेख गर्दै उहाँले नीति र कानुनको अभाव नभए पनि यसको कार्यान्वयन पक्षमा भने कमजोरी नै रहेको सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।

सरकारले चालु आर्थिक वर्षमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति अघि सारेको जानकारी दिँदै नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा सन्तुलित आहारमा जोड दिई स्वछ जीवनशैली अपनाउन अभिप्रेरित गर्ने र खुला योग तथा व्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने पनि सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।
योबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालमा आयुर्वेदको विकासका लागि हुने लगानीको सरकारले सधैँ स्वागत गर्ने उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘आयुर्वेद तथा जडीबुटी उत्पादन र प्रशोधनको क्षेत्रमा हुने लगानीको स्वागत गर्दै नेपाल सरकार त्यस्ता निकायसँग साझेदारी गर्न तयार छ । आजको यो अन्तर्राष्ट्रिय सम्मेलनबाट पनि नेपाललाई आयुर्वेद क्षेत्रको हब बनाउन उल्लेख्य सहयोग पुग्ने अपेक्षा राखेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर