चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरूले मांसपेशीहरू कमजोर बन्ने रोग ‘मायस्थेनिया ग्राभिस’ का बिरामीको नयाँ प्रविधिबाट शल्यक्रिया गरेका छन्।

शरीरको प्रतिरोधात्मक प्रणालीका लागि आवश्यक पर्ने तत्वहरूलाई असर गरेर मांसपेशीलाई कमजोर बनाउने रोग मायस्थेनिया ग्राभिस हो। यो रोगले मान्छेमा अस्वाभाविक रूपमा थकाइ लाग्ने, निद्रा लागिरहने, आँखा सिधा हेर्न नसक्ने जस्ता समस्या बढ्छ।

फोक्सो र मुटुको बीचमा हुने ‘थाइमस’ नामको अंगको कारणले यो समस्या हुने भएकाले उपचारका लागि शल्यक्रिया गरेर त्यो अंग निकाल्ने गरिएको छ। यो समस्या लिएर क्यान्सर अस्पताल भरतपुर आइपुगेकी दाङकी २२ वर्षीया युवतीको वरिष्ठ अंलोजिस्ट, थेरासिस एन्ड ल्याप्रोस्कपी सर्जन डा. विनय ठाकुर नेतृत्वको स्वास्थ्यकर्मीहरूको समूहले नयाँ प्रविधि प्रयोग गरी शल्यक्रिया गरेको हो।

नाकबाट अक्सिजन, सलाइनबाट बेहोस बनाउने औषधि दिएर पेटमा एउटा प्वाल बनाई दुरबिनमार्फत शल्यक्रिया गरिएको डा. ठाकुरले जानकारी दिए। ‘सामान्यतया यसअघि यस्ता बिरामीको शल्यक्रिया श्वास नलीबाट पाइप घुसाएर बेहोस बनाएर गरिन्थ्यो। त्यसो गर्दा मांसपेशीका बिरामीलाई थप असर पर्ने सम्भावना हुन्थ्यो। अहिलेसम्म नेपालमा सबैले गर्ने यही विधिबाट हो।

हामीले पहिलो पटक बिरामीलाई पनि सहज हुने, जोखिम कम हुने गरी बेहोस बनाएर अपरेसन गर्‍यौं,’ डा. ठाकुरले भने। डा. ठाकुरका अनुसार पहिले शल्यक्रिया छाती चिरेर नै गर्नुपर्थ्यो। पछि दुरबिन प्रयोग गरेर गर्न थालियो। विगतमा छातीमा तीन वटा प्वाल पारेर दुरबिनमार्फत शल्यकरिया गरिन्थ्यो।

अहिले पहिलो पटक पेटमा एउटा मात्रै प्वाल पारेर दुरबिनमार्फत गरिएको उनले बताए। ‘पेटमा तीन सेन्टिमिटरको एउटा प्वाल बनाएर दुरबिनमार्फत थाइमस निकाल्यौं। २ घण्टामा अपरेसन सकियो। त्यसपछि वार्डमा पठाइहालियो,’ ठाकुरले भने, ‘पहिले अपरेसन गर्न पनि समय लाग्थ्यो। त्यसपछि लामो समयसम्म भेन्टिलेटर, आइसियूमा राख्नुपर्थ्यो। मृत्युको जोखिम हुन्थ्यो। नयाँ प्रविधिको प्रयोगले बिरामीको समय, खर्च जोगियो। जोखिम पनि कम भयो।’

प्रतिक्रिया

सम्बन्धित खवर