जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी महाशाखा (हावापानी विश्लेषण शाखा) ले जेठ ७ गते नै मनसुन ऋतुको हावापानी विश्लेषण गर्दै यस वर्ष सरदरभन्दा बढी तापक्रम र वर्षा हुने बताएको थियो।

जेठ १५ गते भित्रिएका मनसुन जेठ २५ गतेसम्म कोशीबाट विस्तारित हुन सकेको छैन। सरदर समयको आकलन गर्ने हो भने अहिलेसम्म मनसुन नेपालभर विस्तारित भइसक्नुपर्ने थियो। अहिले मनसुनको उक्त प्रगतिमा ब्रेक लागेको र जेठको २८–२९ पछि मात्रै मनसुन विस्तारित हुने सम्भावना देखेका छन्।

मनसुन सक्रिय नभएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गर्मी बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागले आइतबार विराटनगरको अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री रहने अनुमान गरेको छ।

त्यस्तै जनकपुरको पनि ३४ देखि ३६ डिग्री सेल्सियस, सिमराको ३३ देखि ३५, भैरहवाको  ३६ देखि ३८, घोराहीको ३४ देखि ३६, नेपालगञ्जको ३७ देखि ३९, धनगढीको पनि ३७ देखि ३९ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ।

मौसमविद् विनोद पोखरेलले मुलुकभर अझै तीन दिनसम्म गर्मी बढ्ने आकलन गरेका छन्। उनले मंगलबारबाट मात्रै देशको पूर्वी भेगबाट वर्षा सुरू हुने सम्भावना रहेको औंल्याएका छन्। आगामी बुधबारबाट मात्रै अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने बताएका छन्।

राम्रो वर्षाका लागि भने बिहीबारसम्मै पर्खनुपर्ने उनले बताए। ‘बिहीबारदेखि वर्षाले राम्रै गति लिँदै असार १ गतेसम्म मनसुन नेपालभरि पुगेर केही ठाउँमा भारी वर्षासम्म गराउला,’ उनले भने। अर्का मौसमसम्बन्धी जानकार उप्रेतीले नेपालभर मनसुन फैलन असार ४ देखि ६ गतेसम्मै पर्खनुपर्ने हुनेसक्ने बताएका छन्।

मनसुनी वायुको अहिलेको अवस्था र पश्चिमी वायुको प्रभावका कारण त्यस्तो निष्कर्ष निकाल्न सकिने उनले बताएका छ्न। ‘जेठको २८–२९ गतेपछि मनसुनमा प्रगति हुँदै असारको ४ देखि ६ गतेतिर सुदूर पश्चिममा पुग्ने पूर्वानुमान गर्न सकिन्छ,’ उनले भनेका छन्।

उनले पनि रोपाइँलगायत  कृषि कर्म असार १ गतेपछि मात्रै गर्नु उपयुक्त हुने बताएका छन्। उनले पनि जेठको २५ देखि २८ गतेसम्म पूर्वी तथा मध्य तराई र त्यसपछि पश्चिम तराईमा अझ गर्मी बढ्ने प्रक्षेपण गरेका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले यसपालि चाँडो मनसुन भित्रिए पनि परिपक्व हुन समय लागेको बताए।

बंगालको खाडीमा पानी पार्ने (न्यूनचापीय) प्रणाली बन्न समय लागेकाले पनि त्यसको असर नेपालको मनसुनी प्रणालीमा देखिएको छ। ‘चाँडो भित्रिए पनि मनसुन परिपक्व भइसकेको छैन। यो बलशाली नभएकैले विस्तारित हुनबाट रोकिएको हो,’ उनले भने। कोशीबाट विस्तारित हुन समय लाग्नुको अर्को कारण पनि छ।

नेपालमा हिउँदयाम र प्रि–मनसुन यामभरि पश्चिमी वायुको दबदबा रहन्छ। यो हावा पश्चिमबाट पूर्वतिर बहन्छ। सोमालियाबाट उत्पत्ति भएर बंगालको खाडी हुँदै नेपाल भित्रने मनसुनी वायु पूर्वबाट पश्चिमतिर बहन्छ। बंगालको खाडीतिरबाटै पर्याप्त मोइस्चर (जलवाष्प) बोकेर आउने वायुले नेपालमा मनग्गे वर्षा गराउँछ।

अहिले पश्चिमी वायु कमजोर भइसकेको छैन। कमजोर मनसुनी वायुलाई त्यसले धकेलेर राखेका कारण कोशीबाट अघि बढ्न नसकेको मौसमविद अर्यालले बताए। ‘बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनेको छैन। पश्चिमी वायु कमजोर नभइसकेकाले त्यसले मनसुनी वायुलाई धकेलिरहेको छ।

यो क्रम केही दिन रहन्छ। असार २८–२८ पछाडि मनसुनी वायुले गति लिने देखिन्छ। त्यसपछि मधेस, बागमती हुँदै नेपालभर फैलने अनुमान गर्न सकिन्छ,’ उनले भने। उनले पनि असार १ गतेपछि मात्रै मनसुनी वायुले विस्तारित रूप लिने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर