गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर रूपमा निःशुल्क पोषण सामग्री उपलब्ध गराउँदै आएको छ । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सुत्केरीलाई अण्डा, चना, साबुन, नुन र रुमाल प्रदान गर्दै आएको छ ।
यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउँछन् । ‘चालु आर्थिक वर्ष २०८१/८२ मा ३४ महिलालाई पोषण सामग्री प्रदान गरेका छौँ’, उनले भने, ‘सात वर्षको अवधिमा तीन सय ३० भन्दा बढी महिलालाई पोषण सामग्री उपलब्ध गराइसकेका छौँ ।
‘साबुनले हात धुनुपर्छ, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, नुनमा आयोडिन हुन्छ, रोगसँग लड्न सहयोग गर्छ भन्ने कुरा यस कार्यक्रमका माध्यमबाट सिक्न पाएको स्थानीय मञ्जु चौधरीले बताइन् । कार्यक्रम सञ्चालन भएपछि स्तनपानको गुणस्तरमा वृद्धि हुनुका साथै महिला र परिवारमा स्वास्थ्यप्रति चेतना वृद्धि, सुत्केरी महिलामा मनोबल र आत्मसम्मान बढ्नुका साथै सङ्क्रामक रोग सर्ने दरमा कमी आएको पाइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।










