चर्चित कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडाले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ ।

उनी अनमोल केसीको आगामी फिल्म ‘बाटुलो जुन’को शीर्ष भूमिकामा अनुबन्धित भएकी छन् । यो फिल्ममा उनले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

गतसाता नै प्रिन्सी यो फिल्ममा अनुबन्धित भैसकेको स्रोतले जनाएको छ । अहिले यी दुई कलाकार कार्यशालमा ब्यस्त छन् ।

दुई चरणमा छायांकन हुने फिल्मको पहिलो चरणको सुटिङ अर्को सातादेखि चित्लाङबाट सुरु हुनेछ । अंगुर खेतीको दृश्य खिच्दै छायांकन हुन लागेको हो । दोस्रो चरण मनसुनपछि सुरु हुनेछ ।

भुवन केसीले निर्देशन र जिया केसीले निर्माण गर्न लागेको यो फिल्म ग्रामीण परिवेशको कथावस्तुमा निर्माण हुन लागेको हो । पहिलोपटक अनमोल गाउँले भूमिकामा देखिँदैछन् भने उनको करिअरकै सबैभन्दा सस्तो बजेट यसमा हुने जनाइएको छ ।

प्रिन्सीले यसअघि पनि एक हिन्दी फिल्म ‘सपना’मा अभिनय गरेकी थिइन् तर त्यो फिल्म रिलिज भैसकेको छैन । प्रिन्सी र उनकी बहिनी प्रिज्मा खतिवडा टिकटक भिडियोमार्फत चर्चामा आएका हुन् ।

उनीहरूले कन्टेन्ट क्रिएसनसँगै म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर