रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’को शीर्ष भूमिकामा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छन् । निकट स्रोतका अनुसार निर्माता र रेखाबीच बुधबार लिखित सम्झौता भएको छ । यसअघि यो फिल्मको शीर्षमध्येको भूमिकामा अभिनेता विपिन कार्की पनि अनुबन्धित भैसकेका छन् ।

दाजुबहिनीको मर्मस्पर्शी कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा रेखाले विपिनकी बहिनीको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रेखा पछिल्लोपटक लिड रोलमा आफ्नो होमप्रोडक्सन फिल्म ‘उपहार’मा देखिएकी थिइन् भने यसैमहिनाको उनको शीर्ष अभिनय रहेको नाटक ‘मीरा’ मञ्चन भैसकेको छ ।

फिल्म ‘भाइटीका’मा रेखाले विपिनकी बहिनीको भूमिकामा अभिनय गर्ने भएपछि यो चरित्रमा रुपान्तरणका लागि उनले आफूलाई सोहीअनुसार तयार गर्नुपर्ने हुन्छ । २० वर्षदेखि दाजु र बहिनीले तिहारमा भाइटीका लगाउन नपाउँदाको मर्मस्पर्शी कथामा फिल्म बन्नेछ ।

दीपक वलीले निर्देशन गर्ने यो फिल्मको पटकथा महेश दवाडीको हुनेछ । २०८२ सालमा छायांकन हुने फिल्मको प्रदर्शन २०८३ सालको तिहार छेकोमा हुने अपेक्षा छ । निर्माता अधिकारीको पछिल्लो फिल्म ‘माइतीघर’ दशैंको फूलपातीमा प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर