कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी)को सर्पदंशबाट मृत्यु भएको छ । महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो ।

तत्काल उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो । अस्पतालमा उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । कमलाका तीन स–साना बालबालिका छन् ।

मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएको गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीयका अनुसार कमला महिला दुई महिनाअघिमात्र भारतबाट घर आइपुगेकी थिइन् ।

नगरप्रमुख हेमराज ओझाले गोठमा सर्पदंशबाट महिलाको मृत्यु खबर सुन्दा स्तब्ध भएको बताए। “छाउपडी प्रथा हटाउनका लागि प्रयास गर्दै आएका छौँ”, उनले भने, “जनचेतना फैलाउने कार्य गर्दागर्दै महिलाको दु:खद् निधन भयो, निकै मर्माहत छौँ ।”

विद्यमान छाउपडी प्रथा हटाउनका लागि आगामी आवको नीति तथा कार्यक्रमै पनि सचेतनामूलक कार्यक्रम गर्ने, छाउगोठ भत्काउने कार्यक्रम राखिएको उनले जानकारी दिए । “छाउपडी प्रथा कानुनतः निषेध गरिएको भए पनि अशिक्षा र गरिबी भएका क्षेत्रमा विद्यमान छ, त्यसलाई घटाउनका लागि भरमग्दुर प्रयासमा छौँ”, उनले भने ।

छाउपडी प्रथाजस्तो गम्भीर मानवता विरोधी कुप्रथाका कारण निर्दोष महिलाले ज्यान गुमाउनुपरेको दलित अगुवा राजुराम सार्कीले बताए । महिनावारी नियमित प्राकृतिक जैविक प्रक्रियालाई घृणित भावना राखेर व्यवहार गर्ने घरपरिवार, समाजको चरित्र फेर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको अन्त्य हुनुपर्ने बताए । कुरीतिजन्य अमानवीय यस प्रथालाई हटाउन सम्बन्धित निकायले यथाशीघ्र पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला र सुत्केरी भएको अवस्थामा छाउपडीमा राख्न नराख्न पाइने व्यवस्था छ । यस्तो कार्य गरिए तीन महिना कैदको व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर