जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शारीरिक अपाङ्गता भएकी नवीना खनाललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेका छन्।

नवीना खनालको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमै तयार पारिएको थियो भने औँठाछाप मात्र लिन बाँकी थियो। प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, “अपाङ्गता भएकाले आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता वितरण गरियो।”

उनले यस्ता कार्यले नागरिक र परिवारमा सरकारप्रति विश्वास र सकारात्मक धारणा बढ्न सहयोग पुग्ने उल्लेख गरे। जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालका लागि नागरिकता प्राप्तिको क्षण अत्यन्तै हर्षोल्लासपूर्ण रह्यो। मातृ स्नेह नपाएकी नवीनालाई उनका ७७ वर्षीय हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आएका छन्।

म्याग्दे गाउँपालिका–१, गुणादीकी निवासी नवीना खनालको जन्म वि.सं. २०६२ माघ ११ गते भएको थियो। वि.सं. २०६८ मा आमाको निधनपछि उनी अभिभावकविहीन बनेकी थिइन्। बाबुको पहिचान नभएकी नवीना खनाललाई गाउँपालिकाले पहिले नै अपाङ्गता भएको प्रमाणस्वरूप रातो कार्ड उपलब्ध गराएको थियो। तर नागरिकता प्रमाणपत्र नहुँदा उनी सरकारले प्रदान गर्ने अपाङ्गता भत्ताबाट वञ्चित भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर