वर्षा हुँदा घर आसपासमा जम्ने पानी तथा गर्मी मौसमका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा गण्डकी प्रदेश लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण पनि बढ्दै गएको छ।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशको तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीको तीन सय सात जनामा, तनहुँका एक सय एक जनामा, लमजुङमा ७७ जनामा, गोरखामा ४६ जनामा, स्याङ्जामा २८ जनामा, बागलुङमा १९ जनामा, पर्वतमा १७ जनामा, म्याग्दीमा १० जनामा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा चार जनामा संक्रमणको पुष्टि भएको छ।
मुस्ताङ र मनाङमा भने संक्रमितहरूको संख्या शून्य रहेको छ। संक्रमणको मासिक विवरण अनुसार गत ‘जनवरी’ देखि ‘जुलाई’ सम्म सबैभन्दा बढी ‘जुलाई’ मा एक सय ८५ जनामा संक्रमणको पुष्टि भएको छ।
यस्तै ‘जनवरी’ मा ५२ जनामा, ‘फेब्रुअरी’मा ५३ जनामा, ‘मार्च’मा ३४ जनामा, ‘अप्रिल’मा ४० जनामा, ‘मे’ मा ७६ जनामा र ‘जुन’ मा एक सय ६९ जनामा डेंगु संक्रमण भएको छ। यो संक्रमणलाई लिङ्गको आधारमा हेर्दा ५१.४ प्रतिशत पुरुष, ४८.४ प्रतिशत महिला र ०.२ प्रतिशत अन्य रहेका छन्।
यस्तै उमेरका आधारमा हेर्दा एक वर्ष मुनिका नौ जना, एकदेखि पाँच वर्षसम्मका ८२ जना, पाँचदेखि १४ वर्षसम्मका एक सय पाँच जना र १४ वर्षभन्दा माथिका चार सय १३ जना रहेका छन्। बर्षायाम सँगै डेंगु रोगको संक्रामक प्रकोप बढ्दै गएकाले यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि साउन महिनाभर अभियान चलाउन प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराले अनुरोध गरेको छ।
सचेतना प्रभावकारी बनाउन ‘लामखुट्टेको लार्भा, खोजौँ र नष्ट गरौँ’ भन्ने नारा सहित राष्ट्रिय अभियानलाई प्रदेशका सबै स्थानीय जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन गर्न भनिएको छ। सबै सरकारी, गैर–सरकारी, निजी तह र सरोकारवाल निकायहरूलाई डेंगु नियन्त्रण अभियान सफल बनाउन निर्देशनालयले अनुरोध गरेको छ।










