शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।
व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै उनले आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणीकरण गर्न नसक्ने उनले बताए ।
१६ अक्टोबर २०२५ सम्म केन्द्रमा उपस्थित हुन नसक्ने बताउँदै उनले आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेको जनाएका छन् ।
राजीनामा दिए पनि उनले केन्द्रको प्रगति, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतको सपना र स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । डा. रामेशले गंगालाल अस्पतालमा २५ वर्ष बिताएका छन् ।










