
अभिनेता तथा पूर्वमिस्टर नेपाल जीवन लुइँटेलले ७ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ ।
निर्माण हुन लागेको कथानक फिल्म ‘सकम्बरी’मा लुइँटेललाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा बुधबार जीवनसँग लिखित सम्झौता भएको छ ।
बुधबार नै यो फिल्ममा अभिनेता अर्पण थापा पनि अनुबन्धित भएका छन् । दुवै अभिनेतासँग एकेडेमीले लिखित सहमति गरेको हो ।
शीर्ष भूमिका ‘सकम्बरी’ र निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताए । उनका अनुसार तिहारपछि यो फिल्मको छायांकन हुनेछ ।
पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएपनि यो फिल्मको कथा पुस्तकमा आधारित नरहेको पुरीले बताए ।
‘यो फिल्मको कथा मोर्डन सकम्बरी, सुयोगवीर र शिवराजको हो । तर, कथावस्तु पुरै नयाँ हुनेछ’ उनले भने, ‘ती आधुनिक पात्रले कसरी बाँच्छन् र सोच्छन् कथा यसमा छ ।’
जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् ।
दोस्रो विश्वयुद्ध कालखण्डको समेत दृश्य उतार्नुपर्ने भएकाले यो फिल्मलाई बर्मा (म्यानमार) र नेपालमा छायांकन गर्ने तयारी छ । ३ करोड बजेट तय यो फिल्मलाई लिएर जीवन र अर्पण दुवैजना उत्साहित सुनिए ।