निर्देशक दिनेश राउतले आगामी रोमान्टिक फिचर ‘कुमारी’को छायांकन मंगलबारदेखि थालेका छन् ।
पाटनको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन थालिएको हो, जहाँ निर्माता, प्राविधिक र कलाकार सहभागी थिए ।छायाङ्कन ३५ दिनमा सकिने अपेक्षा छ । यो फिल्मको शीर्ष भूमिकामा आकृति राजभण्डारी र अभिषेक खड्का छन् । आकृतिले यसअघि ‘जलाकी’बाट फिल्ममा डेब्यू गरिसकेकी छन् ।
त्यसअघि उनको प्रसिद्धी भने सुशान्त केसीको ग्लोबल हिट म्युजिक भिडियो ‘बार्दली’बाट भयो । ‘कुमारी’ आकृतिको दोस्रो फिल्म हो ।खड्काले भने यो फिल्मबाट फिल्ममा डेब्यू गर्न लागेका हुन् ।
दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा, र भूपी लुहारजस्ता कलाकारको पनि अभिनय रहनेछ ।बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् ।
पटकथा विकास सुवेदीले लेखेका हुन् । राउतले ‘आइएम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ’पर्व’, ’महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ’पुजार सार्की’ जस्ता फिल्म निर्देशन गरेका थिए । उनको पछिल्लो लभस्टोरी फिल्म ‘क्लासिक’ थियो ।
त्यसपछि उनी ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन् । सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने फिल्मको कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर