फिल्म ‘कबड्डी ५’को छायाङ्कन सुरु भएको छ । निर्माण युनिटले सोमबारबाट मुस्ताङको लार्जुङ बस्तीबाट फिल्मको छायाङ्कन सुरु गरेको हो ।

मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ ।

फिल्म ‘कबड्डी’को अब पाँचौँ शृङ्खलाको रूपमा निर्माण हुन लागेको हो । ‘कबड्डी ४’बन्ने बेलामा निर्माण युनिटले ‘कबड्डी’को यो नै अन्तिम सिक्वेल भनेर प्रचार गरेपनि अहिले फेरि अर्को सिक्वेल बन्न लागेको हो ।

फिल्ममा ‘कबड्डी’ शृङ्खलाकै धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको पनि प्रवेश भएको छ । चौथौँ शृङ्खलामा जोडी भएर काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायतको अभिनय रहने यो फिल्मबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् ।

फिल्ममा दर्शकले अभिनेत्री रिश्मा गुरुङ (मैयाँ)लाई पनि देख्न पाउनेछन् । ‘कबड्डी’को पहिलो र दोस्रो शृङ्खलामा उनी मुख्य भूमिकामा थिइन् । तेस्रोमा केमियोमा सीमित भएकी उनी चौथो शृङ्खलामा भने अटेकी थिइनन् । ‘कबड्डी ५’मा अभिनेता विपिन कार्कीको पनि मुख्य भूमिका रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर