काठमाडौँ महानगरपालिका हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जना रहेका छन् । महानगरले २०८० माघदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।
महानगरले आर्थिक वर्ष २०८१/०८२ मा एक लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । तीमध्ये ८४ हजार ७०४ जनाले बहिरंग सेवा लिएका छन् । स्वास्थ्य बिमा कार्यक्रममा यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरिएका छन् ।
महानगरले १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । महानगरले बेवारिसे, विपन्न र बेसहाराको नि:शुल्क उपचारअन्तर्गत २१० जनालाई नि:शुल्क उपचार सेवा प्रदान गरेको प्रवक्ता मानन्धरले जानकारी दिए । उनका अनुसार नसर्ने रोग स्क्रिनिङ महाअभियानअन्तर्गत २६ हजार १९ जनाको परीक्षणसमेत गरिएको छ ।
महानगरका वडा नं १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स–रे सेवासमेत महानगरले सुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरी स्थानीयलाई स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । महानगरका ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवासमेत सञ्चालन गरिएको उनले बताए।
स्वास्थ्य प्रवर्द्धन केन्द्रसहित महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, छ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, एक वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपञ्चर सेवाबाट पनि स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ ।










