अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ ।
फिल्मले बुधबारसम्म ११ करोड ४३ लाख ग्रस कलेक्सन गर्न सफल भएको निर्माता सरोज न्यौपानेले बताए ।यसअघि यो वर्ष रिलिज भएको फिल्ममा सबैभन्दा धेरै कमाई फिल्म ‘उनको स्वीटर’ले गरेको थियो । फिल्मको आम्दानी ११ करोड ३४ लाख ग्रस कलेक्सन रहेको थियो ।
‘जेरी अन टप’ अझै प्रदर्शनरत छ । फिल्मको बक्सअफिसमा आधिकारिक कमाई कति छ भनेर चलचित्र विकास बोर्डले सार्वजनिक गर्न बाँकी रहेको छ । सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगायत कलाकारहरूको अभिनय छ ।
फिल्म सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको हो । फिल्मलाई मंगलबार केन्द्रीय चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । चलचित्रलाई सेन्सर बोर्डले आफ्नो निर्देशन पालना नगरेको भन्दै स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण चित्तबुझ्दो नआए फिल्मको प्रदर्शन रोक्नसक्ने सेन्सर बोर्डले जनाएको छ ।










