गायक अमृत गुरूङ मञ्चमा देखा पर्नासाथ तीनतले बाल्कोनी भएको भूमिगत हलभित्र ठूलो तरंग फैलियो। झिलिमिली बत्ती र दर्शकको हुटिङबिच स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले–
‘हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने’
कन्सर्ट सुरू हुनुभन्दा आधा घण्टाअघि नै डाउनटाउनस्थित ‘टोकियो डोम सिटी हल’ भरिभराउ भइसकेको थियो। जब नेपालीपन बोकेको गीतसँगै मंगलबार साँझ रक कन्सर्ट सुरू भयो, हलमा हलचल मच्चियो। नेपथ्यले हिमपातको प्रभावसहित प्रस्तुत गरेको ‘भेडाको ऊनजस्तो’ ले माहोललाई अर्को उचाइ दियो। त्यसपछि आफ्नो सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ गाउँदासम्म ब्यान्डले दर्शकको मन जितिसकेको देखिन्थ्यो।
‘कामको बोझले थिचिएको यहाँको व्यस्त जीवनबिच मभित्र जम्दै गएको छटपटीलाई निकास दिने यो नै सर्वोत्तम ओखती थियो,’ तनहुँको बन्दीपुरबाट तीन वर्षअघि जापान पुगेकी सोनिका गुरूङले भनिन्, ‘अनुशासनबद्ध प्रस्तुति र देशभक्तिको भावनाले भरिएको नेपथ्य कन्सर्टले पूर्ण सन्तुष्टि दिएको छ।’
जापानकै प्रसिद्ध यस हलमा नेपथ्यले सात वर्षपछि दोस्रो प्रस्तुति दिएको हो। यस सहरमा भने दुई वर्षअघि पनि ब्यान्डको कन्सर्ट भएको थियो। नेपथ्यका लागि सुरूवाती दिनका अवसरदेखि ब्यान्ड विघटनसम्मका थुप्रै तितामिठा घटनाको साक्षी हो– टोकियो। नेपथ्यले मुलुकबाहिर सबैभन्दा धेरै कन्सर्ट गरेको सहरमध्ये यो पनि पर्छ।
मंगलबारको कन्सर्टमा रोजगारीका लागि मात्रै नभई अध्ययनका लागि आएका विद्यार्थीको पनि उल्लेख्य उपस्थिति थियो। तिनैमध्ये एक थिए, जापानी विद्यालयमा प्लस टु पढिरहेका १७ वर्षीय विवेक कंडेल। उनी आठ वर्षपहिले अभिभावकका साथ बागलुङको गलकोटबाट जापान गएका थिए।
‘साथीहरूबाट चर्चा सुनेपछि हेर्न आएको हुँ,’ विवेकले भने, ‘गायकले मञ्चबाट अनेक सन्दर्भ झिक्दै दर्शकसँग संवाद गर्ने तरिका मलाई विशेष मन पर्यो।’दर्शकसँग मनको कुरा खोल्दै अमृतले भनेका थिए, ‘गाउँमा यतिबेला बालाचतुर्दशीको चहलपहल छ। धान काटिसकेर दाइँ हाल्ने चटारो छ। आफू भने मनमा गाउँलाई लिएर यतातिर गाउँदै हिँडिएको छ। गाउँको याद आयो है…।’
मध्यतिर ‘यो जिन्दगानी’ गीतका साथ कन्सर्ट जब सामाजिक दायरामा प्रवेश गर्यो, अमृतले त्यसैसँग सान्दर्भिक भनाइ राखे।










