लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत बुधबार युट्युबमा सार्वजनिक गरेकी छन् । यसवर्षको उनको गीत ‘म त नराउरी’ बुधबार बिहान रिलिज भएको हो ।
गीतलाई ’पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ । गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडियोमा गत वर्षकै गीत ’आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् ।
६० जना कोरस डान्सर छन् । नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको छ । सार्वजनिकरुपमा नदेखिने गायिका माझीका गीतलाई लिएर हरेक तीजमा प्रतीक्षा हुने गर्छ ।
सामाजिक संजालका कतिपय प्रयोगकर्ताले माझीले गीत नल्याएसम्म वास्तविकरुपमा तीज नआउने भन्दै टिप्पणी गरिरहेका हुन्छन् । नयाँ गीतमा पनि उनका प्रशंसकको टिप्पणी त्यस्तै छ । नयाँ गीतलाई लिएर मिश्रित प्रतिक्रिया छ ।
कतिपयले उत्कृष्ट र मर्मस्पर्शी रहेको बताइरहेका छन् भने कतिपयले विगतका गीतजस्तो नरहेको प्रतिक्रिया दिइरहेका छन् । तरपनि, माझीको नयाँ गीतले पक्कै पनि प्रशंसकलाई तीज माहोल सिर्जना गर्ने कुरा पक्का छ । नयाँ तीज गीतमा पनि विष्णुले उही नारीको वेदना, माइतीको याद र संघर्षका कुरा गरेकी छन् ।










