चिसो दिनहुँ बढिरहेको छ । चिसोकै कारण यतिबेला मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् ।

चिसो मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण समय हो, विशेष गरी बालबालिका, वृद्धवृद्धा, र दीर्घ रोगीका लागि। चिसोको समयमा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भाइरस र ब्याक्टेरियाबाट सजिलै संक्रमण हुने सम्भावना बढ्छ।

चिसो मौसममा खोकी, मौसमी फ्लु, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण गर्ने गर्छ । प्रायः उमेर ढल्किँदै गएका ५० वर्ष माथिका मानिसलाई यस प्रकारका रोगले बढी संक्रमण गरेको पाइन्छ ।

यस्तै चिसो मौसममा बालबालिका पनि प्रभावित भइरहेका हुन्छन् । तर, हाम्रो शरीरलाई मौसमको बानी पर्न समय लाग्छ । यो समयमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा भाइरस, ब्याक्टेरिया हाम्रो शरीरमा प्रवेश गर्छन् र रोग लाग्छ ।

जाडोमा ब्याक्टेरिया र भाइरस सक्रिय हुने हुँदा विभिन्न स्वास्थ्य समस्या देखिने हुनाले विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका कीटाणु सक्रिय हुन्छन् । जाडो मौसममा सरुवा रोगमा श्वासप्रश्वास र पेटसम्बन्धी समस्या बढी देखिन्छन्।

हामी चिसोबाट बच्न अनेक उपायहरू लगाइरहेका हुन्छौँ तर, पनि चिसोबाट उन्मुक्ति भने पाउँदैनौँ । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिन्छन् । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या हुने गर्छ ।

बिहानै चिसोमा काम गर्ने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ । चिसोबाट बच्न झोलिलो पदार्थमा जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दूध, कालो चिया, कागती चिया, कफी तथा केही मात्रामा दूध चिया पनि खान सकिन्छ ।

लगातार तातो पानी पिउने तथा बाफ लिने गर्न सकेमा चिसोबाट केही मात्रामा सुरक्षित हुन सकिन्छ । यस्तै चिसोमा बालबालिका र उमेर पुगेका मानिसहरूलाई बढी समस्या हुने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्छ । चिसो मौसममा पोसिला खानेकुरासँगै गाईको घिउ र चाकु खाने गरेमा स्वास्थ्यको लागि राम्रो हुन्छ ।

बालबालिका, वृद्ध वृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । एक छिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ । यस कारण न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ ।

बालबालिकालाई उनको टोपी लगाइदिँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ । यो मौसममा एकसरो कपडा लगाउनु हुँदैन । चिसो मौसममा सकेसम्म आगो र हिटरको प्रयोग कम गर्नुपर्छ । हिटरको प्रयोगले शरीरमा असर गर्ने भएकाले यसको प्रयोग कम गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

आगो ताप्दा पनि चिसोको असर कम हुन्छ । तर आगो र हिटरको प्रयोग सन्तुलन मिलाएर प्रयोग गरेमा त्यसबाट उत्पन्न हुने समस्याबाट बच्न सकिन्छ । चिसो मौसममा सकेसम्म कपडाको प्रयोग गर्नु राम्रो मानिन्छ । दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरूले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन ।

चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्त्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरू देखा पर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज राम्रो मानिन्छ । साथै बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरीरमा भएका न्यानो कपडाहरूको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने काम गर्नुपर्दछ । पसिना आएमा कपडा फेरिदिनुपर्छ ।

यस्तै शुद्ध मिसावट नभएको तोरीको तेलमा यसमा मेथी फुराएर मसाज गर्नु अफै राम्रो मानिन्छ । चिसो मौसममा मानिसमा देखिने अर्को समस्या भनेको छालामा फुस्रोपना हो । यस्तो वेला सुक्खा हावा लाग्छ र शरीरको पानी उडेर जान्छ ।

चिसोको वेला शरीरमा पानीको मात्रा पनि कम हुन जान्छ । जसले गर्दा छाला र ओठ फुस्रो हुने र फुट्ने समस्या हुन्छ । यसबाट बच्न चिसो मौसममा अत्यधिक पानी पिउने गर्नुपर्छ । त्यस्तै मोस्चराइजर क्रिम, नरिवल, आलमन्डको तेल छालामा लगाउनुपर्छ ।

यसले छाला सुख्खा हुनबाट बचाउँछ । यो मौसममा खासगरी काठमाडौँ उपत्यकामा मर्निङवाक गर्नेहरू सचेत हुनुपर्छ । यहाँको वातावरण निकै प्रदूषित भएकाले चिसो समयमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ ।

यसका कारण बिहानको समयमा दौडिँदा ध्यान दिनुपर्छ । चिसोमा बिहानी समयमा निक्कै नै चिसो बढ्ने भएकाले यो समयमा बिहानी वाक गर्न स्वास्थ्यका हिसाबले राम्रो मानिदैन् । यस्तै चिसोबाट घरेलुरुपमा बच्ने कोसिस गर्दा राम्रो उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य उपचार गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर