शुक्रबारदेखि नेपालका हलमा नेपाली भाषाको फिल्म ‘हर्ष’ र हिन्दी भाषाको ‘तेरे इश्क मे’ प्रदर्शनमा आएका छन् ।
एकता पौडेल निर्देशित ‘हर्ष’ पारिवारिक कथावस्तुमा आधारित छ । खुसीसँग जीवन बाँचिरहेको मुख्य पात्र केशरले अचानक आउने संकटबाट परिवारलाई जोगाउनुपर्छ । यही कथा वरपर फिल्म घुमेको छ ।
यसमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, नीर शाह लगायतको प्रमुख अभिनय छ । तपाईंलाई पारिवारिक कथावस्तुमा रुचि छ भने ‘हर्ष’ दर्शनीय बन्नसक्छ ।
१२४ मिनेट रनटाइमको यो फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउँछन् । शुक्रबारदेखि बलिउड फिल्म ‘तेरे इश्क मेँ’ समेत रिलिज भएको छ । आनन्द एल राय निर्देशित फिल्ममा धनुष र कीर्ति सेननको शीर्ष भूमिका छ ।
एक्सन-रोमान्स जनरामा राखिएको यो फिल्म शंकर र मुक्ति नामक दुई पात्रको प्रेमकथा चित्रण छ । बनारसको परिवेशमा खिचिएको फिल्ममा यी दुईको प्रेमले अनेक चुनौतीसँग जुध्नुपर्छ ।
अहिले हलमा नेपाली फिल्महरू परान, मनबिनाको धन, जारी २, जेरी अन टप पनि प्रदर्शनरत छन् ।










