शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ३ मिनेट अवधिको ट्रेलर रिलिज गरिएको हो।
ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरूको कथालाई प्रस्तुत गरिएको छ। विदेशको पीआरको मोहले नेपाली समाज र परिवारमा पार्ने प्रभावको कथा फिल्मले भन्ने बुझ्न सकिन्छ।
खासगरी युवा सपना, प्रेम, विश्वासघात, बिछोड र बदलाको कथालाई समेत ट्रेलरमा देख्न सकिन्छ। साथमा, आफ्नो देश आफ्नै हुन्छ भन्ने सन्देश यसमा दिन खोजिएको छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल र विनिता कार्की फिल्ममा शीर्ष भूमिकामा छन्।
साथमा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायललगायतको अभिनय छ। फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी.नेपाल र दिक्पाल कार्की लगायतका कलाकारहरू विशेष भूमिकामा छन्।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको पीआरको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् । लक्ष्मण सापकोटा र प्रदीप दाहालले यसमा लगानी गरेका छन्। सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। फिल्म यही मंसिर २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ।










