स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सरकारी अस्पतालमा भएका आधारभूत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गरिन् । आधारभूत सेवाहरू स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भए पनि जानेर वा नजानेर ठूला अस्पतालमा आउने गरेको उनको भनाइ छ ।

ठूला अस्पतालमा विशिष्ट किसिमका सेवा दिनुपर्नेमा साना आधारभूत सेवा पनि दिनुपर्ने बाध्यताले अस्पतालमा भिड बढ्ने गरेको उनले बताइन् । अस्पतालमा हुने भिडले स्वास्थ्यकर्मीको काममा समेत उच्च चाप हुने र औषधिको समेत अभाव हुने गरेको उनको भनाइ छ ।

उनले आम नागरिक र बीमा बोर्डमा पनि बीमाबारे बुझाइको कमी रहेको भन्दै यसबारे स्पष्ट हुन जरुरी रहेको बताइन् । अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुर्‍याउने भन्ने ध्येयका साथ आफूहरूअघि बढिरहेको बताइन् ।

‘हाम्रो आधारभूत सेवाहरू राम्रोसँग सञ्चालन गरौँ । बीमा चाँडै नै नेपालभित्रका हाम्रा अस्पतालहरुका समस्या र बीमा बोर्डमै पनि बुझाइको कमी र समग्र नागरिकमा यो आधारभुत बीमा तलैबाट लिने हो भन्ने बुझाइको कमीले गर्दा यो अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुग्ने भन्ने हो,’ उनले भनिन् ।

लुम्बिनी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै उनले ती क्षेत्रहरूमा अत्यधिक प्राथमकिताका साथ कार्यक्रम अघि बढाइरहेको दाबी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर