त्रिभुवन विश्वविद्यालयले आगामी १० पुसमा ५१औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर त्रिविले गत शैक्षिकसत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीको १० पुसमा दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो ।

त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ छ ।

जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् ।आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जनारहेका छन् ।

साथै, २३ हजार ९८० जना अभिभावक/संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरेर करिब ४२ हजार जना दीक्षान्त समारोहमा उपस्थिति रहने अनुमान गरिएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए ।

रजिस्ट्रार प्राडा रिजालका अनुसार अनुमानित संख्यामा उपस्थिति भए यो त्रिविको इतिहासमै ठूलो समारोह हुनेछ । दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका रहेको रिजाले बताए । कार्यक्रममा ४९ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर