देशभर चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै समस्या लिएर अस्पताल पुग्ने बिरामीहरुको संख्या पनि बढ्दै गएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा करिब एक सातादेखि चिसोजन्य समस्या लिएर पुग्ने बिरामी बढ्न थालेको छ।

अस्पतालका निर्देशक डा युवानिधी बसौंलाका अनुसार हाल ओपिडीमा दैनिक १ हजारको हाराहारीमा बिरामी आउने गरेको बताउँछन्। अस्पताल आउने अधिकांशजसो रुघाखोकी, ज्वरो तथा दमका बिरामी रहेको उनले जानकारी दिए।

थोरै संख्यामा झाडापखालाका बिरामीहरु पनि अस्पताल पुग्ने गरेका छन्। त्यसमा पनि वृद्धवृद्धा र दीर्घ रोगीहरु बढी हुन्छन्। अस्पतालमा भर्ना नै भएर सेवा लिने बिरामीको संख्या भने पछिल्लो साता घटेको उनले जानकारी दिए। रुघाखोकीका बिरामी निमोनिया भइसकेपछि वा जटिल अवस्थामा मात्रै अस्पताल भर्ना हुने गरेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।

उनका अनुसार चिसो मौसममा रुघाखोकी, कमन कोल्ड, फ्लु, झाडापखाला जस्ता समस्या बढी देखिन्छ। धेरैलाई कमन कोल्ड, फ्लु लगायतले सताउने गरेको उनको अनुभव छ। चिसो बढ्दै जाँदा सर्ने रोगका साथै नसर्ने रोगका कारण पनि जोखिम बढ्दै जाने उनी बताउँछन्।

उनका अनुसार यो समयमा मुटु रोगका कारण हुने मृत्युको जोखिम तथा उच्च रक्तचापका बिरामीहरुलाई हृदयघात हुने सम्भाावना पनि बढ्ने गर्छ। चिसोमा युवा अवस्थाका मानिसले समेत हृदयघातका कारण ज्यान गुमाउने जोखिम बढ्ने उनले बताए।

मुटु तथा दमका बिरामीहरुमा स्वास्थ्य समस्या बढ्ने भएकोले त्यस्ता बिरामीहरुलाई विशेषगरी चिसोमा स्वास्थ्यको ख्याल राख्न उनको सुझाव छ। चिसो सुख्खापनको समय भएकोले झोलिलो खानेकुराको सेवन बढी गर्न डा पुनको सुझाव छ।

चिसो मौसम धुलो धुँवा तथा प्रदुषणको मौसम पनि भएकोले फोक्सो तथा मुटुरोगीहरुले विशेषरुपमा स्वास्थ्यको ख्याल राख्नुपर्ने उनले बताए। दीर्घरोगीहरु नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहन उनी सुझाव दिन्छन्। रुघाखोकीबाट जोगिन सार्वजनिक स्थानमा माक्सको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, रुघाखोकी धेरै लाग्ने मानिसले फ्लुको खोप लगाएर पनि जटिल अवस्थामा पुग्नबाट जोगिने सकिने डा पुनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर