चलचित्र ‘आबाट आमा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
फिल्मको सार्वजनिक ट्रेलरले नेपालको पछिल्लो समसामयिक घटनालाई प्रस्तुत गरिएको छ । नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई ट्रेलरले दर्साउँछ । जहाँ आमा बिपना थापा बनेकी छन् भने भारतीय वरिष्ठ कलाकार प्रदीप रावत बुबा बनेका छन् ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै भारतीय अभिनेता प्रदीप रावतले फिल्म ‘आबाट आमा’को प्रदर्शनका लागि आफू उत्साहित रहेको बताए । उनले फिल्ममा आफू भएको र नभएको दुवै दृश्य एकदमै सानदार बताए । ‘फिल्ममा जतिले काम गरेका छन् । एकदमै राम्रो काम गरेका छन्’, रावतले भने ‘निर्देशक चन्द्र पन्तको एकदमै मिहिनेत छ ।’ उनले भगवानको कृपाले फिल्म सफल हुनेमा समेत आशा व्यक्त गरे ।
प्रदीप फिल्मको प्रचार प्रसारका लागि मंगलबार साँझ काठमाडौँ आएका हुन् । फिल्मको प्रचारका लागि उनी केही दिन काठमाडौँ रहनेछन् ।कार्यक्रममा अभिनेत्री बिपना थापाले आफ्नो अभिनय पुनरागमन सफल बनाएको भन्दै दर्शकलाई धन्यवाद दिइन् । ‘फिल्मका सार्वजनिक गीत मार्फत अपार माया दिनु भएको छ । त्यसका लागि धन्यवाद’, उनले भनिन् ‘फिल्म ‘आबाट आमा’ एकदमै राम्रो बनेको छ । हेरेर प्रतिक्रिया दिनुहोला ।’ अभिनयमा कम ब्याक हुँदा राम्रो फिल्महरू पाएको भन्दै उनले आफूलाई भाग्यमानी बताइन् ।
अभिनेता पल शाहले फिल्ममा आमाका लागि संघर्ष गर्ने केटाको भूमिकामा आफू रहेको बताए । फिल्मलाई लिएर आफू उत्साहित रहेको बताउँदै राम्रो भूमिकाका लागि छनोट गरेकामा निर्माण टिमलाई धन्यवाद दिए ।
फिल्म यही माघ १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । पन्तकै लेखन रहेको फिल्ममा बिपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती, दिलिप अखेडा लगायतले अभिनय छ ।
ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको फिल्मको कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन् ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम रहेका छन् ।
फिल्मको वितरण प्रदर्शन आरआर फिल्मस् र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।










