
स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ। त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल इञ्जिनियरिङअन्तर्गत पुल्चोक क्याम्पसमा एक सय आठ स्थान (कोटा) रहेकामा एक स्थान मात्र भर्ना हुन बाँकी छ।
सो विषयमा थापाथली क्याम्पसमा ३६ स्थानमध्ये नौमा भर्ना हुन बाँकी छ। ती दुई क्याम्पसमा कम्प्युटर इञ्जिनियरिङमा क्रमशः ३६ र १२ स्थान रहेकामा सबैमा भर्ना भइसकेका छन्। इलोक्ट्रोनिक्स, कम्युनिकेशन र इन्फर्मेशन इञ्जिनियरिङमा ती क्याम्पसमा क्रमशः २४/२४ स्थान रहेकामा सबै सिटमा भर्ना भइसकेका छन्। अन्य क्याम्पसमा पनि ती विषयमा विद्यार्थी भरिन थालेका छन्।
मेकानिकल इञ्जिनियरिङमा पुल्चोक क्याम्पसमा २४ स्थान रहेकामा दुई स्थान खाली छ भने थापाथली क्याम्पसमा सो विषयमा ३६ स्थान रहेकामा हालसम्म १८ विद्यार्थी मात्रै भर्ना भएका छन्। जिओम्याट्रिक्स इञ्जिनियरिङमा पश्चिमाञ्चल क्याम्पसमा ३६ स्थान रहेकामा अझै १३ स्थान भर्ना हुन बाँकी छ।
निजी (सम्बन्धन प्राप्त) मा विभिन्न समावेशीताका आधारमा ३१ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन्। शुल्क तिरेर पढ्ने एक हजार चार सय विद्यार्थी हुन्छन्। त्रिविका अतिरिक्त काठमाडौंं, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी-बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्न सक्ने क्षमता रहेको छ।