अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि लामो समय फिल्म क्षेत्रबाट टाढा रहेकी रिया चक्रवर्ती अन्ततः अभिनयमा फर्किएकी छन्। मंगलबार मुम्बईमा आयोजित ‘नेक्स्ट अन नेटफ्लिक्स’ इभेन्टमा सहभागी हुँदै उनले आफ्नो नयाँ सिरिज ‘फेमिली बिजनेस’ को औपचारिक घोषणा गरेकी हुन्।
यस सिरिजमा रियाले बलिउडका दिग्गज अभिनेता अनिल कपूर र विजय वर्मासँग स्क्रिन सेयर गर्नेछिन्। रियाले आफ्नो इन्स्टाग्राममा सिरिजको टिजर सेयर गर्दै पैसा र सत्ताको पुरानो खेलमा परिवार र व्यापारको सीमा हराउने उल्लेख गरेकी छन्।
उनको यो पुनरागमनलाई लिएर फ्यानहरू निकै उत्साहित देखिएका छन्। सामाजिक सञ्जालमा समर्थकहरूले उनलाई बधाई दिँदै लामो समयपछिको यो फिर्ती न्यायसङ्गत भएको प्रतिक्रिया दिइरहेका छन्। धेरैले उनलाई पुनः पर्दामा हेर्न आतुर रहेको भन्दै खुसी व्यक्त गरेका छन्।
सन् २०२० मा सुशान्त सिंह राजपूतको निधनपछि रिया ठुलो कानुनी र मानसिक दबाबमा थिइन्। सोही वर्षको सेप्टेम्बरमा लागुऔषध सम्बन्धी च्याट सार्वजनिक भएपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनलाई हिरासतमा लिएको थियो।
एक महिनापछि धरौटीमा रिहा भए पनि उनले आफ्नो पासपोर्ट बुझाउनुपरेको थियो। हालै बम्बे हाईकोर्टले उनको पक्षमा फैसला सुनाउँदै पाँच वर्षपछि पासपोर्ट फिर्ता दिएको छ, जसले उनलाई आफ्नो करियर अघि बढाउन बाटो प्रशस्त गरेको छ।










