डोटीमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा न २ कल्लेगडा बस्ने नन्नादेवी ठकुल्लाकी १३ वर्षीया छोरी किडी ठकुल्ला रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
आइतबार दिउँसो करिब ३ बजे सोही ठाउँ रानीढुंगा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट किडी घाइते भएकी आमा नन्नादेवी ठकुल्लाले जानकारी दिइन । घाइते बालिकाको तिघ्रा र पाखुरामा गहिरो चोट लागेको उनले बताइन ।
बाघको आक्रमणबाट घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् जिल्ला अस्पताल सिलगढीमा ल्याएको थियो । घाइतेको बालिकाको जिल्ला अस्पताल डोटीमा टिटी खोप नभएका कारण उपचार हुननसकेपछि फेरि उपचारको लागि पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर अवस्थित सुजङ अस्पतालमा लगिएको घाइते बालिकाकी काकी गेडी देवी ठकुल्लाले बताए ।
त्यस्तै बाघले आक्रमण गर्दा सोमबार सोही वडा को टेउटे गाउँका नारद ठकुल्लाको १ बाख्रा मारेको उनले जानकारी दिए । उक्त बाघले आइतबारबाट उधुम मच्चाएपछि स्थानीयमा थप त्रासपूर्ण वातावरण सिर्जना भएको ठकुल्लाले बताए ।