अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ टिजर सार्वजनिक भएको छ ।
प्रमुख कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो वरिपरि टिजर घुमेको छ । कवितासँगै टिजरले फिल्मका मुख्य कलाकारलाई परिचित गराएको छ ।
निर्माण टिमले टिजरलाई आँचलको जन्मदिनको उपहारको रुपमा सार्वजनिक गरेको जनाएको छ । यो कविता फिल्म लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ ।
निर्देशक शर्माका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो ।
सहारा भन्छिन्, ‘यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा धेरै आवश्यकता थियो । त्यसबेला देखि नै यो कविता चलचित्रको अभिन्न अंग बनेको छ ।’
अभिनेत्री शर्माले यो फिल्म आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको बताइन् ।










