जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाले शुक्रबार साँझ सार्वजनिक गरेको तीन दिने मौसम बुलेटिनअनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका सीमित क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातसमेत भइरहेको उल्लेख गरिएको छ।

शुक्रबार रातिदेखि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

शनिबार देशका अधिकांश भूभागमा बदली रहने र कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित हावाहुरी र वर्षा हुने पूर्वानुमान गरिएको छ।

आइतबार भने पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यसदिन पहाडी तथा हिमाली भूभागका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर