फिल्म ‘बा: एक योद्धा’ को छायाङ्कन सुरु भएको छ । सोमबार पशुपतिनाथ मन्दिर परिसरमा धार्मिक विधिपूर्वक स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । नेपाली संगीत क्षेत्रमा स्थापित संगीतकार हरि लम्साल फिल्मका निर्देशन रहेका छन् । लम्सालले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको ‘थिम’ ले यो एक शुद्ध सामाजिक कथावस्तु हुने संकेत गर्छ । शिवराम श्रेष्ठको छायाङ्कन रहने फिल्मका निर्माता वसन्त लम्साल हुन् ।
गायक तथा सर्जक समेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । छायाङ्कन सुरु गरिए पनि फिल्मको कलाकार गोप्य नै राखिएको छ । प्रचार रणनीति अनुसार कलाकार गोप्य राखिएको हो । फिल्ममा नयाँ तथा पुराना चर्चित कलाकारको अभिनय रहने बताइन्छ ।










