शाहरुख खानको करिअरमै उत्कृष्ट प्रदर्शन गर्दै ‘जवान’ र ‘पठान’ले विश्वव्यापी हजार करोड भारु कमाउन सफल भए । उनको पछिल्लो फिल्म ‘डंकी’ बिहीबार रिलिज भएको छ ।
राजकुमार हिरानी निर्देशित फिल्मले भारतमा ३० करोड नेट कलेक्सनसहितको ओपनिङ गरेको छ । भारतीय फिल्मको बक्स अफिस ट्रयाकर स्याननिल्कका अनुसार फिल्मले सबै भाषामा उक्त कमाइ गरेको हो ।
‘डंकी’ हिन्दी फिल्मको इतिहासमा धेरै ओपनिङ गर्ने सातौं फिल्म बनेको छ । जवान, एनिमल, पठान, टाइगर ३, गदर २ र आदिपुरुषपछि ‘डंकी’ले ओपनिङ गर्न सकेको छ ।
‘जवान’ले ७५ करोड भारुको ओपनिङ गरेको थियो । फ्लप फिल्म ‘आदिपुरुष’को ओपनिङ नै ३६ करोड भारु थियो । शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोवर अभिनित ‘डंकी’ले अवैध आप्रवासीको कथा प्रस्तुत गर्छ ।
नेपालमा ओपनिङ कस्तो छ ?
बिहीबार रिलिज भएको ‘डंकी’ले नेपालमा सामान्य ओपनिङ गरेको छ । नेपालमा यो फिल्मको ओपनिङ ६० देखि ७० लाख रुपैयाँ बीचमा रहेको अनुमान गरिएको छ । नेपालमा शाहरुखका अघिल्ला फिल्म ‘जवान’ र ‘पठान’ले उछाल ओपनिङ गरेका थिए ।
शुक्रबार अर्को भारतीय फिल्म ‘सलार’ पनि रिलिज हुँदा ‘डंकी’को व्यापार र शो संख्या दुवै थप प्रभावित भएका छन् । यी दुवै फिल्मले मिश्रित प्रतिक्रिया प्राप्त गरेका छन् ।
शुक्रबार दिउँसोसम्मको अकुपेन्सी हेर्दा ‘सलार’को अकुपेन्सी ७० र ‘डंकी’को अकुपेन्सी ५० प्रतिशतको हाराहारीमा छ । एड्भान्स टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘सलार’ले ‘डंकी’लाई उछिनेको थियो ।