अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ घोषणा गरेकी छिन् । गत सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैँची धाम (हिन्दु सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गरेर नयाँ कामको सुरुवात भन्दै रेखाले फिल्मको औपचारिक घोषणा गरेकी हुन् । रेखाको यो फिल्म आफ्नो ब्यानरको ८ औं फिल्मको रूपमा रहनेछ ।

फिल्मलाई श्रद्धा प्रसाईँले निर्देशन गर्दैछिन् । श्रद्धा पछिल्लो समयको चर्चित कमेडी शो ‘कमेडी दरबार’की निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म ‘ककाकिकी’ प्रदर्शन तयारीमा छ ।

फिल्ममा रेखाको मुख्य अभिनय रहनेछ भने मुख्य अभिनेतामा नवअभिनेतालाई भित्राउने तयारी गरिएको छ । फिल्ममा विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका छन् । फिल्ममा नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको लगानी रहनेछ । बलराम रेखाका श्रीमान् समेत हुन् ।

आगामी असोजमा छायाङ्कनको तयारी गरिएको यस फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । फिल्मको एउटा गीत चर्चित र्‍यापर लिल झोला (आकाश क्षेत्री)ले गाउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर