‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ ।
संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ ।
आवेदनका लागि उमेर १८ देखि २७ वर्ष हुनुपर्नेछ । ३१ डिसेम्बर २०२६ सम्म २७ वर्ष ननाघेका र १ जनवरी २००० पछि जन्मिएका युवती मात्र योग्य मानिनेछन् । उचाइ कम्तीमा ५ फिट ३ इन्च (हिल बिना) हुनुपर्नेछ ।
त्यस्तै, आवेदक अविवाहित हुनुपर्ने र पहिले विवाह नगरेको हुनुपर्ने प्रावधान राखिएको छ । नेपाली नागरिकता वा पासपोर्ट अनिवार्य गरिएको छ भने न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सो सरह हुनुपर्नेछ ।
मिस वल्र्ड संगठनको मापदण्डअनुसार शरीरमा ट्याटु नभएको हुनुपर्ने सर्त पनि लागू गरिएको आयोजकले जनाएको छ ।
एनआरएन (गैरआवासीय नेपाली) का हकमा भने सामान्य विदेशी पासपोर्ट वा एनआरएन परिचयपत्र मात्र पर्याप्त नहुने स्पष्ट गरिएको छ । नयाँ संवैधानिक प्रावधानअनुसार प्राप्त एनआरएन नागरिकता कार्ड भएकाहरू मात्र आवेदनका लागि योग्य हुनेछन् ।
मिस नेपाल प्रतिस्पर्धा देशकै प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ, जहाँबाट विजेता अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउँछन् । साउन मध्यतिर फिनाले आयोजनाको तयारी छ ।










