कीर्तिपुरस्थित अस्थायी आश्रय स्थलमा बसोबास गरिरहेका सुकुम्वासी परिवारलाई लक्षित गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले राहत सामग्री वितरण गरेकी छन्। नागरिकहरूको स्वास्थ्य, सरसफाइ र मर्यादालाई ध्यानमा राखेर गरिएको हो।

मन्त्रालय स्रोतका अनुसार राहत वितरणमा महिला मन्त्रालयअन्तर्गतको ‘प्रोटेक्सन क्लस्टर’ र खानेपानी मन्त्रालयअन्तर्गतको ‘वास क्लस्टर’बीच समन्वय गरिएको थियो। सो क्रममा महिलाहरूको स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिँदै ‘डिग्निटी किट’ वितरण गरिएको छ भने किशोरीहरूका लागि टिसर्ट, सेनेटरी प्याड, भित्री वस्त्र, तौलिया तथा टर्च लाइट समावेश गरिएको ‘किशोरी किट’ प्रदान गरिएको जनाइको छ।

त्यसैगरी, पिउने पानी र सरसफाइका लागि बाल्टिन, जग, नुहाउने तथा लुगा धुने साबुन, मन्जन, ब्रस र नेल कटरजस्ता अत्यावश्यक सामग्री उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

हाल कीर्तिपुरस्थित आश्रय स्थलमा रहेका परिवारहरूको व्यवस्थापनका लागि सरकारी कर्मचारी तथा क्लस्टरका टोलीहरू स्थलगत रूपमा खटिएको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्री बादीले सीमान्तकृत तथा पछाडि पारिएका समुदायको हकहितका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन्। राहत वितरण कार्यलाई प्रभावकारी बनाउन कर्मचारीहरू ढुवानी तथा व्यवस्थापनमा सक्रिय रूपमा संलग्न रहेको जनाइएको छ।

सरकारले स्थानान्तरण भएका परिवारहरूको दैनिक जीवनलाई मर्यादित र सहज बनाउन यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ। साथै, सम्बन्धित निकायहरूले दीर्घकालीन व्यवस्थापन सुनिश्चित नभएसम्म आवश्यक सहयोग, हेरचाह र सुरक्षाका उपायहरू निरन्तर उपलब्ध गराउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर