पल शाहको शीर्ष भूमिका रहने फिल्म ‘आबाट आमा २’ को छायांकन सोमबारदेखि सुरु भएको छ । त्यसअघि, ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभसाइत पूजा गरियो ।
फिल्मको पटकथा पुस्तकलाई पूजाअर्चना गर्दै छायांकन थालिएको निर्देशक चन्द्र पन्तले जनाए । यो फिल्म २०८२ सालको व्यवसायिक हिट फिल्मको दोस्रो श्रृंखला हो ।
यससँगै मेकरले कलाकारको लाइनअप पनि सार्वजनिक गरेका छन् । अघिल्लो भागको कथावस्तुसँग दोस्रो सिक्वेल सम्बन्धित नभएको बताइएपनि अधिकांश अभिनय कलाकार भने दोहोरिएका छन् ।
अघिल्लो फिल्ममा देखिएका शाहसहित विपना थापा, प्रदीप रावत, गजित विष्ट दोस्रो भागमा पनि देखिने भएका छन् । सिक्वेलमा आकाश श्रेष्ठ, नरेन खड्का पनि जोडिएका छन् ।
महिला कलाकार तय हुन बाँकी छन् । उनीहरूको कास्टिङ जारी रहेको जनाइएको छ । अघिल्लो भागमा देखिएका सिम्रन पन्त, उषा उप्रेती देखिनेछैनन् ।
शुभसाइत छायांकन थालिएपनि फ्लोरमा जान केही समय लाग्ने जनाइएको छ । कलाकारको छनोट टुंगिएपछि छायांकन अघि बढाउने निर्देशक पन्तले जनाए । यो फिल्मको प्रदर्शन आगामी दशैंमा हुने जनाइएको छ ।










