शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले रास्वपाको चुनावी वाचा पत्रअनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताएका छन् ।
शुक्रबार सिंहदरबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले रास्वपाको वाचापत्र निर्वाचनमार्फत जनताबाट अनुमोदन भएको र सोही अनुसार विद्यार्थी संगठन खारेज गरेको बताएका हुन् ।
जनताको अनुमोदनअनुसार नै विद्यार्थी संगठन खारेज भएकाले त्यो विषयमा थप बहस आवश्यक नभएको उनले बताए ।
अर्को प्रसंगमा उनले विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताए ।
‘तोकिएको मापदण्ड र नियमको कार्यान्वयनका लागि संघ सरकारको कुनै मद्दत चाहिएमा हामी तयार छौँ,’ उनले भने, ‘तर यो मूलतः स्थानीय तहको दायित्वको कुरा हो । नियमन गर्ने निकायले आफ्नो तर्फबाट काम गर्नुपर्छ ।’










