जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।
सामान्यतया जेठ अन्तिम साता (जुन १३ मा) बंगालको खाडी हुँदै नेपालमा मनसुन भित्रने गर्छ र असोजको अन्तिम साता या कात्तिकको पहिलो सातासम्म मनसुन सक्रिय रहन्छ।
विभागले भने जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन ऋतु भन्दै वर्षा र तापक्रमको आकलन गर्ने गरेको छ।
अघिल्लो वर्षको मनसुन याम (२०८२ जेठ १८ देखि असोज १४ गतेसम्म) औसतभन्दा कम अर्थात् ८७.५ प्रतिशत वर्षा भएको थियो। उक्त अवधिमा १२९५.४० मिलिमिटर वर्षा भएको थियो। सामान्यतया नेपालमा मनसुन याममा १४७२ मिलिलिटर औसत वर्षा हुने अनुमान गरिन्छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु विज्ञान महाशाखा मातहतको जलवायु विश्लेषण शाखाले आइतबार यस वर्षको मनसुन ऋतुको जलवायु आकलन सार्वजनिक गरेको हो।
महाशाखाका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हावापानी विश्लेषण शाखाले जनाएको छ।
त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको शाखाको भनाइ छ।
बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।










