जाजरकोटको भेरी नगरपालिकामा जलवायु अनुकूल स्वास्थ्य चौकी निर्माण भएको छ । भुर स्वास्थ्य चौकीको बिहीबार नेपाल सरकार, युएनएफपीए र जापानी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

भेरी नगरपालिका वडा नम्बर–९ मा जापान सरकारको आर्थिक सहयोग र युएनएफपीएको कार्यान्वयनमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजना अन्तर्गत सो स्वास्थ्य चौकी निर्माण गरिएको हो ।

परियोजना अन्तर्गत भुर स्वास्थ्य चौकीको स्तरोन्नति गरेर आवश्यक उपकरणको व्यवस्थापन गरिएको छ । स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि गरेर भुर स्वास्थ्य चौकीलाई जलवायु अनुकूल प्राथमिक स्वास्थ्य सेवाको लागी उत्कृष्ट बनाइएको युएनएफपीएले जनाएको छ ।

जाजरकोटमा पुनः निर्माण भएको स्वास्थ्य चौकीलाई एउटा भवनको रूपमा मात्रै हेर्न नहुने उल्लेख गर्दै युएनएफपीए नेपालका कार्यवाहक प्रतिनिधि श्रीराम हरिदासले भने, ‘लगानी र सरकारी सहयोग एक ठाउँमा आउँदा के कस्ता काम सम्भव हुन्छन् भन्ने उदाहरण हो ।’

विपद् र सङ्कटको बेलामा पनि नेपालका महिलाहरू सहज रूपमा स्वास्थ्य संस्थाको पहुँचका लागि योग्य भएको उनले बताए । उद्घाटन कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाले हरेक विकास योजनामा जलवायु अनुकूलनलाई अनिवार्य रूपमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल स्थित जापानी राजदूतावासका मिसन उपप्रमुख शिन्तो यासुहारुले जोखिमपूर्ण समुदायको संरक्षण गर्ने नेपालका प्रयासमा जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर