जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको जनाएको छ।

साथै तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने पूर्वानुमान पनि गरिएको छ।

महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय छ, जसका कारण मौसममा परिवर्तन देखिएको हो।

यसै प्रभावका कारण आज राति हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ।

त्यस्तै, मंगलबार र बुधबार देशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बादल देखिने पूर्वानुमान गरिएको छ।

सो अवधिमा हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

यसैबीच, भोलि मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिन (हट डे) हुने सम्भावना देखिएको छ भने पर्सि पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर