अत्यधिक गर्मी र तातो हावा (लु) का कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि बर्दिबास नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार बढ्दो गर्मी र तातो हावाले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि नगर कार्यपालिकाको निर्णयअनुसार बिहीबार तीन दिनसम्म सामुदायिक, संस्थागत (निजी)तथा धार्मिक विद्यालयमा बिदा दिइएको हो ।

निरन्तर बढ्दो तापक्रम र लुका कारण विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको अधिकारीले बताए ।

स्थानीय शिक्षकहरूका अनुसार पछिल्ला केही दिनयता बर्दिबास क्षेत्रको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अधिकांश विद्यालय भवनमा जस्तापाताको छाना भएकाले कक्षाकोठाभित्र अत्यधिक गर्मी हुने गरेको छ । दिन चर्किँदै जाँदा तातो हावाका कारण विद्यार्थीहरू उकुसमुकुस भई कक्षामै बेहोस हुने अवस्था बढ्दै गएको शिक्षकहरूको भनाइ छ ।

मंगलबार बर्दिबास–९ स्थित पशुपति नगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थी पालैपालो बेहोस भएर ढलेपछि विद्यालयमा त्रासको अवस्था सिर्जना भएको थियो । विद्यालयका शिक्षक रामजीवन महतोका अनुसार बुधबार पनि पाँच जना विद्यार्थी कक्षामै बेहोस भएपछि सबै विद्यार्थीलाई बाहिर निकालेर पिपलको रुखमुनि आराम गराइएको थियो ।

महतोले भने, “विद्यालयका १० वटा कक्षाकोठामा जस्तापाताको छानो छ । घाम चर्किँदै जाँदा छाना अत्यधिक तात्ने भएकाले विद्यार्थीहरूलाई टाउको दुख्ने, रिङ्गटा लाग्ने, बोल्न नसक्ने लगायतका समस्या देखिएर बेहोस हुने गरेका छन् ।”

यसअघि मावि कान्तिबजारमा पनि १० जना छात्रा कक्षाकोठामै बेहोस भएका थिए ।

नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख रेवती पराजुलीका अनुसार १४ वटा वडा रहेको बर्दिबास नगर क्षेत्रमा ५० सामुदायिक, २९ संस्थागत र ३ धार्मिक गरी कुल ८२ विद्यालयमा २५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर