भारतीय अभिनेता राम चरण र अभिनेत्री जाहन्वी कपूर अभिनीत तेलुगु फिल्म ‘पेड्डी’ ले बक्स अफिसमा सुखद् सुरूआत गरेको छ। फिल्मले विश्वव्यापी रूपमा ११२.४९ करोड भारू ग्रस कलेक्सन गरेको हो।
व्यापार विश्लेषक वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले भारतमा पहिलो दिन ५१ करोड भारू नेट कमाइ गरेको छ। पेड प्रिभ्यु शोसहित भारतको नेट ६९.५० (ग्रस ८२.४९) करोड भारू ग्रस कमाएको छ। फिल्मले पेड प्रिभ्युबाट १८.५० करोड भारू कमाएको थियो। त्यस्तै, विदेशमा फिल्मले ३० करोड रुपैयाँ ग्रस कमाउँदै विश्वव्यापी कमाइ ११२.४९ करोड रुपैयाँ भारू पुर्याएको हो।
‘पेड्डी’ पहिलो दिनमै विश्वव्यापी रूपमा १०० करोडभन्दा बढी कमाउने ११ औं तेलुगु फिल्म बनेको छ। साथै, एसएस राजामौलीको ‘आरआरआर’पछि यो रामचरणको दोस्रो ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ।
‘गेम चेन्जर’ को कमजोर प्रदर्शनपछि आएको यो सफलताले रामचरणको बक्स अफिस प्रभाव पुनः स्थापित गरेको विश्लेषण गरिएको छ।
बुच्ची बाबु साना निर्देशित ‘पेड्डी’ मा रामचरण र जान्हवीसँगै शिव राजकुमार, जगपति बाबुलगायत कलाकारहरूको पनि अभिनय छ। ‘पेड्डी’ नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।










