भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढाइएको छ । शनिबार रातिदेखि लागू हुने गरी घरेलु प्रयोजनका एलपीजी सिलिन्डरको मूल्यमा प्रतिगोटा २९ भारतीय रुपैयाँले वृद्धि गरिएको हो।

नयाँ समायोजनपछि राजधानी दिल्लीमा १४.२ किलोग्राम क्षमताको घरेलु ग्यास सिलिन्डरको मूल्य आइतबारदेखि ९४२ भारतीय रुपैयाँ पुगेको छ। पछिल्ला तीन महिनाको अवधिमा घरेलु एलपीजीको मूल्य बढाइएको यो दोस्रो अवसर हो। यसअघि गत मार्च ७ मा पनि प्रतिलिन्डर ६० भारतीय रुपैयाँले मूल्य वृद्धि गरिएको थियो।

घरेलु उपभोगका ग्यासमा मात्र नभई व्यावसायिक प्रयोजनमा प्रयोग हुने एलपीजी सिलिन्डरको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। जुन १ देखि लागू हुने गरी १९ किलोग्राम क्षमताको व्यावसायिक सिलिन्डरमा ४२ भारतीय रुपैयाँ थपिएपछि यसको मूल्य ३ हजार १ सय १३ भारतीय रुपैयाँ पुगेको छ। बीबीसीका अनुसार मे महिनामा मात्रै यस्ता व्यावसायिक सिलिन्डरको मूल्यमा करिब १ हजार भारतीय रुपैयाँसम्म वृद्धि भएको थियो।

यता, पेट्रोलियम पदार्थको मूल्य पनि लगातार समायोजन भइरहेको छ। मे महिनाभित्रै पेट्रोल र डिजेलको मूल्य चार पटकसम्म बढाइएको थियो। मे १५ देखि २५ सम्मको अवधिमा यी दुवै इन्धनको खुद्रा मूल्य प्रतिलिटर ७ देखि ७.५ भारतीय रुपैयाँसम्मले वृद्धि भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर