राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशअन्तर्गत पाँच जिल्लामा जिल्ला सभापति चयन गरिएको छ। पार्टीको जिल्ला अधिवेशनमार्फत दाङ, रोल्पा, बर्दिया, गुल्मी र पाल्पामा नयाँ नेतृत्व टुंगो लगाइएको हो।
दाङमा किरण खनाल, रोल्पामा बलराम थापा, बर्दियामा शान्ता बुढा क्षेत्री, गुल्मीमा हरिप्रसाद श्रेष्ठ र पाल्पामा विष्णुप्रसाद भण्डारी जिल्ला सभापतिमा चयन भएका छन्।
प्रदेश उपसभापति शालिकराम घिमिरेका अनुसार रोल्पा र पाल्पामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको हो भने अन्य जिल्लामा निर्वाचन प्रक्रियाबाट सभापति छनोट गरिएको हो।
प्रदेशका बाँकी छ जिल्लाको अधिवेशन नतिजा भोलिसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। रुकुम पूर्वमा भने जिल्ला अधिवेशन हुने वा नहुने विषय अझै अनिश्चित रहेको पार्टीले जनाएको छ।
यसैबीच रुपन्देही, अर्घाखाँची र प्युठानमा आज जिल्ला अधिवेशन जारी छ। केही जिल्लामा सम्पन्न अधिवेशनको परिणामका लागि मतदान प्रक्रिया समेत चलिरहेको बताइएको छ।
रुपन्देहीमा जिल्ला सभापति पदका लागि उपसभापति आशिष न्यौपाने र प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख महेन्द्र उपाध्यायबीच प्रतिस्पर्धा भएको छ।
पार्टीले आगामी जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ। साथै राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने बाँकी १० जिल्लामा राष्ट्रिय महाधिवेशनपछि अधिवेशन गरिने योजना रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन २०२६ आगामी असार ७ देखि ९ गते चितवनमा हुने तय भएको छ।










