ओस्कर विजेता फिल्म ‘पारासाइट’ अभिनेता ली सुन-क्यु मृत भेटिएका छन्। दक्षिण कोरियाली अभिनेता ली पार्किङ गरिएको कारमा मृत भेटिएका हुन्।
उनी कारको प्यासेन्जर सिटमा मृत भेटिएको स्थानीय सञ्चारमाध्यमलाई उद्घृत गर्दै बीबीसीले जनाएको छ।
उनले आत्महत्या गरेका हुन् वा मारिएका हुन् भन्ने विषयको यकिन भइसकेको छैन। उनी वर्षको सुरुवातमा ड्रगको प्रयोगलाई लिएर प्रहरी अनुसन्धानमा थिए।
उनले बारकी महिला कामदारसँगै ड्रग लिइरहेको भेटिएको आरोप थियो। उनी आफूलाई ड्रगबारे थाहा नभएको बताउँदै आएका थिए। तर प्रहरीले उनको घरमा पटक-पटक छापा मारेको थियो।
ड्रग टेस्ट भने नेगेटिभ आएको थियो तर यही झमेलाले आफ्नो ख्यातिमा हानी भएकोले मानसिक रुपमा विक्षिप्त रहेको बताइएको छ। यही कारण उनलाई फिल्म ‘नो वे आउट’ र टिभी सिरिजबाट निकालिएको थियो। विवाहित लीका दुई सन्तान छन्।