राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गत सञ्चालन भइरहेको निर्वाचन कार्यतालिका तत्कालका लागि रोकिएको छ। मतदाता सूची व्यवस्थापनसम्बन्धी विवाद चुलिएपछि निर्वाचन प्रक्रिया अघि नबढाउने निर्णय गरिएको हो।
निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हाललाई सबै निर्वाचन कार्यक्रम स्थगित गरिएको पुष्टि गरेकी छन्। उनका अनुसार परिस्थिति सामान्य भएपछि आगामी २४ घण्टाभित्र नयाँ सूचना जारी गरी आगामी प्रक्रिया तय गरिनेछ।
निर्वाचन स्थगित भएपछि अधिवेशन स्थलमा गतिविधि शून्यजस्तै बनेको छ। सुरक्षाकर्मीको उपस्थितिमा प्रतिनिधिहरूलाई स्थल खाली गराइएको देखिएको छ।
समितिले मंगलबार हातले लेखिएको मतदाता नामावली सार्वजनिक गरेको थियो। सोही सूचीको विश्वसनीयता र व्यवस्थापनलाई लिएर त्यही दिनदेखि नै प्रश्न उठ्न थालेको भए पनि त्यसपछि उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाइएको थियो।
तर मतदाता सूचीसम्बन्धी विवाद समाधान हुन नसकेपछि निर्वाचन प्रक्रिया बीचमै रोकिएको हो। यसैबीच, प्रतिनिधिहरूलाई उपस्थित नेतृत्व नदेखिएको भन्दै स्थल छोड्न आग्रह गरिएको पनि जनाइएको छ।
अब निर्वाचनको नयाँ कार्यतालिका निर्वाचन समितिको आगामी सूचनापछि मात्र स्पष्ट हुने भएको छ।










